निखिल उप्रेतीको नयाँ चलचित्र ‘पिँजडा व्याक अगेन’ दुई मितीमा रिलिज हुने भएको छ । माघ ४ गतेबाट देशभर रिलिज हुने भनिएतापनि अब यो चलचित्र माघ ४ मोफसलमा रिलिज हुनेछ भने माघ ५ मा मात्र राजधानीमा रिलिज हुने भएको छ ।
चलचित्र निर्माता संघले होल्ड ओभर कायम राख्न रिलिज भईरहेका चलचित्रहरुलाई कम्तीमा पनि एक हप्ता हलमा अवसर दिने निर्णय गरेको कारण ‘पिँजडा व्याक अगेन’ दुई मितीमा रिलिज हुन लागेको हो ।
माघ ४ गते सोनम ल्होसार अर्थात सार्वजनिक बिदाको दिन परेको कारणले पनि यो चलचित्र रिलिज हुन लागेको हो । निखिल उप्रेतीको डेब्यू चलचित्र ‘पिंजडा’ को नाम सापटी लिँदै निर्माण गरिएको यस चलचित्रमा निखिलको धमाकेदार एक्सनहरु देख्न सकिन्छ ।
द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेको यस चलचित्रमा मौनता श्रेष्ठको कथा रहेको छ भने निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् ।
सौरभ लामाले खिचेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ । निखिलको ‘पिँजडा’ निकै हिट भएको थियो अब हेरौ ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको ‘पिँजडा व्याक अगेन’ ले कस्तो प्रतिक्रिया पाउँने हो ।
उता चलचित्रकी नायिका साराले यसअघि निखिलकै चलचित्र ‘रुद«’ बाट डेब्यु गरेकी थिईन भने दोस्रो चलचित्र पनि उनले निखिलसंगै काम गर्ने मौका पाएकीछिन् । पहिलो चलचित्रबाट कुनै राम्रो प्रतिक्रिया नपाएकी सारा यो चलचित्रबाट भने आसावादीछिन् ।